अन्तर्मन (कविता संग्रह)

baa

‘‘मेरो कविता ‘नरत्वप्रकास’ (काव्य) महाकवी लक्ष्मीप्रसाद देवकोटालाई विक्रम संवत १९९३-९४ सालतिर के मा हो वहाँको डिल्लिबजारको घरमा ”यो कविता हुन्छ की हुँदैन भनेर?” देखाउने सुअवसर पाएको थिएँ । वहाँले दुइ-चार श्लोक हेरर भन्नुभएकोथियो –  ”लेख्नेको रुचिको कविता हुन्छ सबैलाई सोधेर चित्त बुझाएर कविता लेखिदैन, एक बिषय लिएर तपाँइलाई मनपरेको लेख्दै जानोस पूरा भए पछि त्यहि कविता हुन्छ’’ – वालचन्द्र वाग्ले, महाकवि देवकोटा (खण्ड काव्य) 


  • © जगदीशचन्द्र वाग्लेका  कविताहरू

साहित्यमा अत्यन्त गहिरो अभिरुची भएकोले त्यसको रचना र जगेर्नामा म आफ्ना पलहरू प्रवाहित भैरहेको पाउछु । यो नै यस्तो बिषय हो, जसले प्रकृतिको यथार्थता भित्र प्रवेश गर्न र त्यस भित्र खेल्न सिकाउँछ । साहित्यमा जति पौडिन सक्यो त्यतिनै जिन्दगिको रसस्वादन गर्न सकिने रहेछ् । हाम्रा पिताजी वालचन्द्र वाग्ले र हजूरबुवा टिकानिधी वाग्लेको प्रेरणाले आफुभित्र पनि त्यस प्रकारको साहित्यानुराग प्रस्फुटित भएकोहुँदा वहाँहरूप्रति श्रध्दा सुमन अर्पण गर्दछु ।

मेरा वाल्यकालदेखिका रचनाहरू दिव्यचक्षु नामको साहित्यिक डायरिबाट यहाँ जस्ताको त्यस्तै  उतार गरिएको हो ।   

Poem

———————— एक

(अन्तर् साझा कवि गोष्ठि, २०४४, मा पुरष्क्रित (तेश्रो) कविता) 

हाम्रो साझा साझा सबको 

जन्मेको करिव तीन दशक वित्न लागेछन

ओठमाथिका तिम्रा काला जुँगाले

लाग्छ- तिमी आज निकै सक्षम छौ

राष्ट्रलाई तिम्रो निकै खाँचोछ

उत्तिकै मलाइपनि ।

 किनकी,

तिम्रा वुध्दीमत्तापुर्ण नेत्रित्वले

कहिल्यै खराव दिशा देखीएन

तिम्रा ती सहाशपुर्ण कदमले

सुस्तता कहिल्यै जन्मन सकेन 

तिमी सहयोगी र मिलनसार छौ रे

जो आज सबै जन्दछन

स्वतन्त्रताको नाममा राजनीतिको नारा

उठाउने तिम्रो कुनै चरित्र छैन् ।

निस्चल स्वच्छ भावनाले तिमी

थकित तिर्थ यात्रीहरूलाई 

मेची महाकालीसम्म पुर्याँछौ

आधारतभुत आवस्यकताको परिपुर्ती गर्न

आफ्ना अदम्य साहसहरुले,

राष्ट्रोत्थानमा भारि भोक्न चाहने तिमी

निधारबाट पसिना चुहाइ

हत्केलामा ठेला उठाउन चाहन्छौ

समनताको पाठ सिकाएर ।

 त्यसैले, अपरंपार महिमा तिम्रो यस नगरिमा । 

 

माघ, २०४४ (वरिष्ट साहित्यकार कृष्णचन्द्र सिंह प्रधान कविता मुल्यांकनको संयोजक हुनुहुन्थ्यो)  


———————— दुई

 

विडम्वनापूर्ण श्रध्दाहरू

निकै खुशी मुद्रामा पाउँछु आफूलाई

बाटोलाग्नु अगाडी

अगाडी पछडिका चालहरू हेर्दै

हिडेका आफ्ना कदमहरू

कुनै गन्त्व्य स्थानका लागि बढीरहेछन

सडकको हल्लाले

छुनै सक्तैन मलाइ

म त एउटा वटुवा हुँ  

निस्चित तिर्थयात्राकोलागि हिंडेको 

देख्नु पाउनु त कता हो कता

आँफैभित्र ठुलो भव्य तिर्थस्थल ।

 

शून्य केवल सानो पोखरी

महिनौँ दीन पुरानो पानी

हरियो लेउमा रंगिएर

कता कता ह्वास्स गन्ध पनि

पूजा गर्ने गरेको एउटा ढुंगो 

संपूर्ण सामाग्री र भावनाहरू विसाएर

अव म यहाँ फर्कौँ की न फर्कौँ ?

(मेरो यो कविता नहकुल सिलवालद्वारा प्रकाशित साहित्यिक पत्रिका ‘बगर’ को बर्ष १३, पु. अ. ४४ मा प्रकाशित भएको थियो) 


 ———————— तीन

मेरो कलम

प्रत्यक कलमको टुप्पोसँग मितेरी गाँसिएको जिवन 

अनगिन्ती अपरिचितहरुसँग मित्रवत भाषामा 

पत्ररुपी शरीर बनेर

कहीले छिटो चल्ने मुटुको वेगझैं

कहीले निन्द्राको एकनाश गतिमा

स्वेतपत्रलाई रंगाउदै

आफ्नो शिर कडा परिश्रमका साथ

अविरल गतिमा जीवनको गति बताउँछ ।

सायद कलमको टुप्पोमा

मेरो हृदय छिपेको हुनु पर्छ

किनभने, म निर्जिव शरीरको जिवन हुँ

मेरो भाषा त कलमले बोल्ने गर्छ

अनायास युध्दमा पनि हाम्फालिन पुग्छ

कहीले म दु:खमा रोएको हुन्छ त

कहीले प्रेयशिसँगको मन्द मुस्कान

र कहीले काँही सफलतै सफलताको वेगमा

हुत्तिएर सिंगो कथा व्यथा कोरिदिन्छ

म कलमसंगै जन्मेर मृत्‍यु बोलाउन सक्छु

( २४ बैशाख, २०४९- कार्यालयमा कार्यरत रहँदकै बखत)


dibyachaksu


———————— चार

कर्तव्य वोध

मानिसहरू हो !
म आत्तिनेवाला छैन
न त मात्तिन्छु नै,
म मा कर्तव्य वोध छ
कुनै आस्थामा बढेका विश्वासहरू
एक हातले ताली बजाउन सक्तैन
किनकी म मानिस हुँ
कसै प्रति बढेका भावना प्रति
लागेका गलत् अर्थहरू
मानविय निछ स्वभावका
परिणाम पनि हो
‘समनता’ मेरो व्यहार
सम्बन्धहरू मित्रताकालागी
केवल मित्रताकालागि
मित्रतामा गुणन भागरको अर्थले
परिणामा शून्यतामा परिणत हुन सक्छ
त्यसैले मेरो कर्तव्य पथमा
टुसाएका अनगिन्ती साँडालाई छाती भित्रै संगालेर
गन्तव्य खोजिरहनेछु
(१९ पौष, २०४८)


———————— पाँच 

 अध्ययन

टिक! टिक!! टिक!!! टिक!!!

घडीको सेकेण्ड सुइमा

म अध्ययन गरि रहेछु ।

परिणाम-

के गर्दै छू म – आँफैलाई बिर्सन पुग्छु ।

अध्ययन !

सुइद्वारा व्यक्त सन्देशहरू

धौ धौ परिरहेछ बुझ्न मलाइ

पत्याड लाग्दो लेक्चर जस्तो

कठिन परिक्षाका घडीहरू जस्तै

समय त धेरै बिति सकेछ

घडीको सुइहरुसँगै

विना उद्यस्य, विना गन्त्व्य

गोलो सिशाभित्र थुनिएर

के छ भविश्य, के हो बीचार !

धेरै अर्थ र अनर्थहरूको बीचमा

हराइरहेको छू म कुहिराको काग झैँ

विश्वविध्यालयको प्राङणहरुमा

2048/9/11

 


 

————————छ

दीव्यचक्षुबाट
दीव्यचक्षुबाट

कल्पना

म सपनामा विपनामा आनि गाँस गाँसमा

तिम्रो म्रिदुभाषी हँसमुखलाई

कल्पने गर्छु,

नजाने त्यसमा तिम्रो अस्विक्रिती पनि हुन सक्छ

 

तर,

मलाइ थाहा छ-

त्यो क्षणिक अस्विक्रितिसँग

स्वयम् तिम्रो दीर्घ अस्विक्रिती रहेको छ

 

म वेदनमा छटपटाउँदा

तिम्रा हसाउने प्रयास

यसरी सफल भई दिन्छन्, मानौँ

म सारा दुख:हरू चटक्क बिर्सन पुग्छु 

हुन सक्छ म वेदना  नभएको

एउटा अपवाद हुँ

त्यसोत, त्यो सितल छहारी

चैते घाम र हुरिमा पनि

मेरा लागि वसन्त बनेर आइदिन्छन

 

म कसरी विर्सन सक्छु

जवकी मेरा प्रत्यक सफलतामा

बल्झेका तिम्रा

भावनात्मक एवम् शारीरिक कष्टहरू !

(२०४९/०१/२९, कार्यालय)


 ——————-—–सात

रुखविनाको छायाँ

एकान्त छाडेर भिडमै रहँदा पनि
छायाँ वरिपरि घुमिरहेछ
झ्याप्प झुप्प बादलसँग
लुकामारी गरेको घामसरी
कहीले उर्लँदो धडकन
कतै शिथिल यात्री झैँ

उँडिरहेका तरंगहरू
हटाउन सक्तिन म यसमानेमा की
घाउ झन् ठुलो हुनेछ
मन भारी पोखरीमा
तरंग – बिरामी अनुहारमा
परिश्रममा थकित
हाँसिरहेको कतै
नजाने संझनाको सम्झनामा
इण्टु चिन्ह कतै
स्नेह यसरी पोखिन्छन
मान्द्रो फिँजाउनु अघि
ह्वात्त अन्न पोखिएसरी

छायाँ चलिनै रहेछ्
घामको गति सँङै
एउटा तारा हृदयमा भर्न
सम्झनामा एउटा पत्र
सोध्दै सोध्दै हल्करासँग
जवाफ हारेको मुद्दा जस्तो
हललाई रहेछु हातहरू
स्पर्ष कतै हुन्छ की
आनि हेरिरहेछु गाडी
कतै झ्यालबाट चिहाइरहेकोछ की
र फेरि फ्याँकिएको हृदय
कतै कुनामा ठोकिन्छ की

द्विधालाई चिर्दै तरंग
किनारा छोएर फर्कन्छ
त्यसैले अविस्वासमा पोखिएको यो विस्वाशको विस्कुन
सन्देश अन्जुलिमा उठाएर
सूर्यलाई चढाइरहेछु
जिवन मागिरहेछ- बोट बनेर फलिदिन
माटो तिमिलाई खोजिरहेछ
छायाँ तिमी शितल बनेर आइदिन ।

२०४९-२-१५ (स्थानिय निर्वाचन , धापासी ) 


 ————————आठ

dashainरोएकोछ दशैं

दशैं !
हिन्दुमात्रको महान पर्व
विजयको प्रतिक ।

परिवर्तन भएको छ-
विजयनै आज पराजित भएको छ
किनकि,
प्रत्येक दीन यहाँ
म्रुत्युसँग विजय मागिरहेछ मानिस
गास वास र कपास कठिन भईरहेको बेला
झुपडिमा आएको दशैंले
मागिरहेकोछ जमरा र निधारका अक्षता
कतै एक छाक टार्न पाइन्थ्योकी भनेर् !

चरम बिभाजित समाज
कसैको दशैं त कसैको दशा
कसैले दशैँलाई किनिसकेछ
त्यो विजयको प्रतिक
आज भिख मागिरहेछ प्रत्येक बिसंगतिहरुसँग
पराजित भएर
छिनालिएका नर वलीहरू खोजिरहेछन
धर्म ग्रन्थका ठेली भित्र
‘अधिकार’ कतै चेपिएको छ की भनेर,

पुरानो सिक्कमा खिया लागेको छ
दशँ अवमुल्यनमा रोएको छ
सर्वत्र आक्रमणमा परेकोछ
दशैँ डराइरहेको छ
र बिलौना गरिरहेकोछ दशैँले-
शब्दकोषको पानामामात्र सिमित हुनुपर्ला की भनेर !

२०४८, अशोज २५: काठमण्डौ


 

समय मिलाएर अरु धेरै पुराना रचनाहरू यहाँ राखिनेछन…

 


 ————————नौ 

म पूल हुँ

म पूल हुँ

हजारौँ यात्रुहरूलाई गन्तव्यमा पुर्याउँछु

अग्ला अग्ला पहाडहरुबिच अथाह गहिराइमा सेतु बनेर

यात्रुहरूलाई पत्तै छैन, गहिराइ र कठिनाइ

वारि पारी असम्भव, सम्भव गराउँछ म

 

पहिले धेरै सानो थिएं

कच्चा थिएँ, भाँचिन्थेँ बाँस काठ भएर, र   

बग्थेँ खहरेसंगै बाढी भएर

युवक भएँ

हल्लिएँ झलुङो भएर,

जवान हुँदा खीइन्छु र ढाकिन्छु धुलाम्य भएर

बरु ठनक्क भाँचिन सक्छु फलामा भएर

 

मेरो यात्रु तार्ने निरन्तर काम   

कसै गरेपनी रोकिएको छैन

वारिबाट पारी, पारिबाट वारि

निरन्तर गाडीहरू तर्छन भारी भराउ यात्रु लिएर

महिनाभको कमाई धेरै साहुले र बचेँको ड्राइभरले लैजान्छन

म भने विना धन्यवाद यात्रुहरू तारिरहन्छु

धुलाम्य भएर

त्यसैले म पूल हुँ ।

०१/०९/२०१४, सरे युनिभर्सिटी, यु के


————————दश

A poem composed by me
A poem composed by me

नसोचिएको दशैं

 

बारुद बनेर पड्किरहेको दशैं

अभाव, अनिकाल र गरिविमा छड्किरहेको दशैं

बर्षैभरी अरबबाट लाश वोसारेर थाकिरहेको दशैं

न्याय माग्दामाग्दै अस्पतालमा लम्पसार मरिरहेको दशैं

एक सय आठ वलिवेदिको रगतमा बगिरहेको दशैं

उम्रंदै जमरा हिंसाको रापमा वैलाइरहेको दशैं

 

शक्ति-भक्ती र स्वार्थीहरूको गठवन्धनमा जितिरहेको दशैं

सत्य हारेर टुलुटुलु हेरिरहेको दशैं 

निमुखाहरूले पराजय भोगिरहेको दशैं

 

भो अब त पुग्यो, न्याय च्यातिएको दशैं

हज्जारौँको चुरा, सिन्दूर पुछेर सम्मान पाइएको दशैं 

पस्चातापमा लुकेर दशैंको आशिष खोज्दै फेशबूक चाहरीरहेको दशैं ।

२४/०९/२०१४ इ सं सरे यू के 

 


 

 ————————एघार 

म नीच

वचनमा मानिस शान्ति, डिमोक्र्यासी
सहयोग-सदभाव र अधिकारको कुरा गर्छ
र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो ।

क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म
मेरो गोरुको बारै टक्का- मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक
लोकले देखेकै छैन् झैँ गरि सर्वत्र अशान्ती फैलाउँछ र भनिदिन्छ यहि हो शान्ति  
बारुदको धुवाँमा ढाकिएर आफ्नो छ दिने नाबालक खोजिरहेकी आमाले कसरी पत्याउने
त्यो शान्ति र अधिकार ती  आमाहरु र मारिइसकेको अबोधहरुकालागि हो भनेर !
नपत्याए हेर स्वदेशको अस्पतालदेखि बिदेशको खाडीसम्म, पर्वदेखि पुज्यारीसम्म
निलो समुन्द्रको रंग बमको धुलोले खरानी त भएकै थियो, बिस्तारै रगतले रातिँदैछ
रावणले कोरेका चित्रहरु कहिले  सिताको भेषमा त कहिले बुद्धको आवाजमा                                                                                                

अमेरिका, युरोप, अरब त कहिले ईजरायल, प्यालेष्टाइन; विध्वंश मचाइ रहेकाछन

हिजो उसले मार्थ्यो, आज यसले मार्दैछ,                                                                                                                                                        

कहिले  यता त कहिले उता निर्दोशहरु मारीइरहेका छन ।                                                                                                                     

किनकि स्वभाव फेरिएको छैन   

हतियारले खिइएका हात र रगतले रङिएका पोशाकमा सजिएर
छेस्कलोबाट वुद्ध गुम्वा भित्र पसेका हुल्याहा ब्वाँसाहरू
थप बमहरु पडकाउने भन्दै आज पनि परेवा उडाउन  उस्तै ब्यस्त छन ।

मानिसले ‘म’ लाई त्याग्न सकेकै छैन र सक्ने पनि छैन
यो त उसको जन्मसिद्ध स्वभाव हो, जातिगत स्वभाव ।
सुकिलो भेष र महँगा विश्वविध्यालयहरुले स्वभाव परिवर्तन हुंदैन  
नपत्याए हेर कमिला, धमिरा र माहुरिका त्यो हुललाई
तिनीहरु क को अक्षर लेख्न पढन पनि जन्दैनन
सिक- जाओ तिनका घरमा, एक वास बसी हेर, र सिकी आउ तिनको मेलमिलाप
बडो विस्तारै जाओ, तर्सन्छन तिनिहरु !
तिम्रो त साशले पनि तिनको मेलमिलापलाइ छिन्नभिन्न पारिदिन्छ
व्यस्त छन तिनिहरू तिमिले बिनास पारेको वस्ती पुनर्निर्माण गर्न
र सर्टीफिकेट हैन विवेक सापट मागेर आओ ।

कसरी भयौ तिमी सर्वश्रेष्ठ ? बाँदर झैँ अर्काको घर भत्काउँछौ
कोइलीले झैँ कागको फुल चोर्छौ, ब्वाँसो झै मारेर खान्छौ
रावणझैँ सीताहरु भगाउछौ, शान्तिदूत बनेर आत्मदाह गर्ने सन्देश दिन्छौ
हज्जारौँ जिव, जनावर, वनस्पती र सम्पदा भत्काइसक्यौ; भत्काउँदैछौ   
चोरलाई साधु र निर्धोलाई शूली चढाउन कानुन बनाएकोछौ

कमिला, धमिरा र माहुरीको आदर्शलाई माथी उठनै दिंदैनौ !

अव तिमी मानिस रहेनौ, सर्वश्रेष्ठ भएनौ
जुनि नै बदल्यौ, हुनसम्म भयौ ‘म नीच’ अर्थात् ‘मानिच’  नै भयौ ।
अलिकति मात्रै मानवत्व बांकी छ भने जाउ विवेक सिकेर आउ; विवेक सिकेर आउ ।

20/10/2014, UK


—–बार

Advertisements

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s