INCOMESCO

An open discussion around food security, international development, inequality and area of interest

विधवा-क्रान्ति  (कथा)

सुनसान सडक । एकाध माइक्रो बस, सरकारी सवारी साधन अनि नम्बर प्लेट छोपिएका अलि बाक्लै मोटर साइकलहरु । सेना र उसका ट्याङकरOLYMPUS DIGITAL CAMERA सशस्त्र र जनपथ प्रहरी चोक चौकामा छ्यापछ्याप्ति । मानव अधिकार र प्रेसका ब्यानर सहितका गाडीहरु र साइरन बजाउँदै गुडेका एम्बुलेन्स । लम्की-लम्की हिँडिरहेका यात्रुहरु । सेता माइक्रोबसमा रत्नपार्कतिर पुग्न हतारिएकी छु म पनि । घोँच्चिएर माइक्रोबसभित्र छिर्दा सबैले परपर सरेर मलाइ ठाउँ छोडिदिए । जीवनभर सजायँ पाउनु पर्न ! बसको पांग्रा र सडकको बीचमा जीवन पेलेर बाँच्नुभन्दा कठिन छ विधवाको जीवनयात्रा ।

किन ठाउँ छाडे यात्रुहरुले मलाई ! मेरो बीस-बाईस वर्षे कलिलो उमेरमै फुङ्ग उडेको मेरो अनुहार र पखालिएको रङ देखेर दयाको नजरले हेर्दा हुन् तिनीहरु मलाई । दया पाउनू मेरो अधिकार होइन । स्वतन्त्रता हरिएको त्यो दया । किन किन मलाई निगाहमा बाँच्न मन पर्दैन । निगाह ! मेरो आत्मनिर्णयको बाधक । मैले लालीगुराँस चुल्ठोमा सिउरेर सिम्रिकलाई सिउँदोमा सजाउँदै जवानीमा रङ भरेको मन नपराउने समाजबाट निस्केको अमिलो दया । वास्तबमा मलाई धरतीमा तेश्रो शक्ति भएर बाँच्न रहर पलाएको छ । र लोग्ने मरेका श्रीमतीहरुले विधुवा हुनु नपर्ने गरी आउने दिनलाई मैले स्वतन्त्रताको जन्म दिन भनेर परिभाषित गर्नेछु ।

रत्नपार्क ! रत्नपार्क ! ! ढ्वाक ! ढवाक ! ! खलासीको हात र मुखबाट एकैसाथ निस्केको आवाजले म झस्किएँ र सम्झेँ पनि कि मेरो गन्तव्य आइपुगेछ । सगँसँगै सम्झन पनि थालें कि सिटनजिकै रहेको युवकलाई । जसले मलाई यात्राभरि विषेश प्रकारको नजर लगाएर आन्दोलित हुन प्रेरित गरिरहेको भान भयो । तर म उसँग नजर मिलाउन चाहेर पनि सकिरहेकी थिईंन । फेरि उसको अनुहार मेरा मरेका पतिको अनुहारसँग के न के मिलेजस्तो लागिरहेको थियो । मेरो बुझाइमा ती युवक सभ्यताको कोरा कपडा च्यातेर मसमक्ष आउन चहान्थ्यो । उसका भाव-वेगहरु हत्तरमा पानी टिलपिलाएझैं मेरो प्रकृतिमा सोंझै मिसिन खोजिरहेका थिए । म पनि सामाजिक पुरातन मान्यताबिरुद्घ उसले फिंजाएको वैचारिक मान्द्रोमा फिंजिन चाहान्थें, परिपक्व हुन चाहान्थें, जहाँ सामाजिक न्यायका लागि भनिने विधवा भत्ता थाप्न नपरोस् ।

म विधवा हुँ । हो, मेरो पतिलाई मारेर मलाई विधवा बनाउने यही समाज हो । लोग्ने मर्नु त्यति अनौठो होइन जति अनौठो म विधवा भइदिएकोले धेरै अधिकारकर्मीहरुको भातभा

न्सा चल्ने गरेको छ । मभने चुपचाप रहनु परेको छ, विधवा भइदिएर । मलाई राम्ररी थाहा छ कि यो मुलुक असल नेतृत्वको खोजीमा छ र राज्यले खोजिरहेको असल नेतृत्व म जस्ता विधवाको गर्भमा थिचिएको छ । सायद समाजका नाइकेहरु असल नेतृत्वको जन्ममा आफ्नो अस्तित्व नासिने डरले त्यसरी सृष्टि थिच्न मन पराउँदा हुन् । कल्पनाका यी छटपटीहरुलाई दैनिक ब्यबहारमा उतार्नु मेरो कर्तब्य हो किनभने संस्कृति कालो छाता जति पनि फराकिलो छैन जहाँ एक झर ओत लाग्न सकियोस् । हत्तेरी, म पनि ! कल्पनामा मात्र दिन बित्ने भो । पसल पनि आइपुगेछ । अर्को गन्तव्यले मलाई फेरि झस्का दियो ।

एक चौथाइभन्दा कम भाग खुलेको शटरलाई ढकढक्याउँदै भित्र पस्छु । के हो साहुजी हडतालमा पनि पसल खुल्ला ? के गर्नु त बहिनी, तपाईंहरुको सेवा गरौं भनेर नि । फेरि सधैंको हडताल र बन्दले पेशा धान्नै मुश्किल छ- कपडा साहूको पनि आफ्नै विलौना छ । केही सेवा बहिनी ! साहूले बोहनी भइहालोस् भनेर मलाई सोध्यो ! अँ – सेतो साडी निकाल्नुस् त साहुजी । भोलि मासिक छ । सेतै त छैन, तर विधवाहरुले लगाउने अन्य रङका कपडाहरु भने छन्, निकालौं है ? साहूजीको शब्दहरुमध्ये “विधवा” मेरो दिमागमा एक्कास्सि ठोकिन पुग्यो ।

विधवा ! म फेरि घोत्लिन पुग्छु । मेरा फक्रँदो जवानीका कुन अङ्गले मलाई विधवा बनायो ! अंगभरि तेश्रो नेत्र डुलाएर हेर्छु ? सबै यथावत सकृय छन्, युध्द जित्न तम्सेका सिपाहीं जस्ता, क्रान्तियोध्दा मेरा अङ्गहरु । तिनै क्रान्तियोध्दा मेरा अङ्गहरुले घच्घच्याए र सोधें कसरी मलाई विधवा देख्नु भयो साहूजी ? मेरो प्रश्न सुनेर कपडा ब्यापारी अवाक भयो । सायद उसले म जस्तो ग्राहक फेला पारेको थिएन अहिलेसम्म । एउटालाई नोक्सान हुँदा मात्र अर्काको ब्यापार यथार्थमा नाफामा परिणत हुन सक्छ । त्यसैले ब्यापारमा सामाजिक न्याय पाइंदैन । सामाजिक न्याय पाउन सकिने ठाउँ भनेको त राज्य हो, त्यो पनि यतिखेर ब्यापार भएको छ । कुर्चीलाई नाफा देख्ने नाफाखोरहरुले मोल मोलाइ गर्ने बजार जस्तै । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समावेशी, संविधानसभा जस्ता शब्दहरुको व्यापार भएको छ । राजनीतिको बजारमा बिक्रीका लागि प्रदर्शित यी शब्दहरुको गुणस्तर उपभोक्ताहरुलाई अत्तोपत्तो छैन-कालिमाटीको तरकारीको गुणस्तरका बारेमा अनभिज्ञ भए जस्तै ।

सेता वस्त्रमा म विधवा विवेकशून्य सामाजिक मर्यादा जोगाइरहेछु-प्राकृतिक न्यायलाई बोतलभित्र कोचेर र सघाइरहेछु हजारौं नारीहरुलाई यसरी नै बन्धकमा राख्न । नारीको प्राकृतिक सौन्दर्य र त्यसको अस्तित्व पनि पुरुष मरेकै कारणले गर्दा सकिने रे ! धन्य हाम्रो समाज । सामाजिक ढोङ्गलाई व्यक्ति व्यक्तिका चेतनाले विद्रोह गर्न नसकिन्जेलसम्म मात्र जोगाउन सकिने न हो । त्यसैले विधवा म त्यतिबेलासम्म रहन सक्छु जतिबेला सम्म मैले जवर्जस्ती लादिएको सामाजिक ढोङ्गलाइ स्वीकार गर्न सक्छु ।

दुर्इवटा बन्दुकको बीचमा चेपिएको यो समाज झन्झन् विधवा बनाउन गर्व गर्दैछ । फगत राजनीति ! अर्थात् तिमी विदुर म विधवा । त्यसैले चेतना छिटोछिटो संचारित नभई सुखै छैन । म विधवा पुनः विवाहका लागि स्वतन्त्र छैन भने तिमी विदुरहरुको स्वतन्त्रता पनि मसमक्ष आइपुगेर टुङ्गिनेछ । तिमी पनि स्वास्नी टोकाह भनेर जवानीमै अपहेलित छौ, जसरी म लोग्ने टोकाइ भनेर कामै नलाग्ने रछ्यान भएकी छु ।

माइक्रो बसभित्र मसँग आँखा जुधाउन खोज्ने त्यो युवक विदुर रहेछ । उसकी श्रीमती पनि रातको निद्रामा मारिएकी थिई । उसलाई पनि दाग लागिसकेको छ । त्यसैले ऊ पटक-पटक ठोकिन पुग्छ विधवासँगै । मारेर दुःख दिने अपराधीहरुभन्दा पनि बँचाएर पीडा दिने हाम्रो समाज झन पीडादायी रहेछ ।

नयाँ मान्यता र चेतनाले मलाई घच्घचाइरहेछन् । अमरत्व ! बुध्द, क्राइष्ट, गान्धी, नयाँ मान्यताका प्रतीकहरु । यही चेतनाले मलाई आन्दोलित बनाउँदै यहाँसम्म ल्याइपुग्यो । त्यसैले मेरो नेतृत्वमा कुरिति विरुद्घ सामाजिक अभियानका लागि आयोजित यो बिरोध जुलुसमा चेतनाको पर्खाल उघारिसकेका तमाम न्यायप्रेमी जनसमुदायहरुलाई सहभागिताका लागि हार्दिक आमन्त्रण छ ।

जुलुसमा भीडलाई घचेट्दै मछेउ सेतै फुलेको अधबैंसे पुरुष आइपुग्छ र सम्झाउँदै भन्छ-हडतालको दिन थियो । नारायण गोपालचोकबाट रत्नपार्क जाने माइक्रो बसमा हाम्रो भेट भएको थियो, सम्झनु भयो, युवकले सम्झना गरायो । मैले पनि सम्झेको इसारा गर्दै दायाँ हातले जुलुसमा हिँड्न इसारा गरें । यस बीचमा उसको पुनः विबाह हुन सकेको रहेनछ । मैले भन्दै गएँ ? यी सबै हामी जस्तै विदुर र विधवा हुन् । तै पनि एकले अर्कोलाई स्वीकार्न सकिरहेको अवस्था छैन । सबैको पीडा एउटै हो । त्यसैले आउनोस्, मान्यता बदल्ने यस पवित्र आन्दोलनमा सहभागी बनौं । गे र लेज्बियनहरुले त संगठन खोलेर समलिंगीहरुको अधिकार संरक्षणमा लाग्न हुन्छ, जुन कुरा सृष्टिको प्राकृतिक नियमअनुसार पनि अस्वाभाविक लाग्दछ, भने हामी विधवाहरुले किन नहुने ? अनन्त पुस्ताले मुक्ति पाउनेछ । हामीभित्र थिचिएको न्याय अनि थिचिएको असल नेतृत्वले पनि जन्म लिनेछ ।

हामी रमेको क्षणलाई सामाजिक मान्यतामा स्वीकृतिको टाँचा लगाएर एक झर ओत लाग्न नसकिने छाताभन्दा पनि सानो संस्कृतिलाई धरतीजत्तिकै फराकिलो बनाउन पनि यो आन्दोलन अपरिहार्य छ । जागिर देलान्, हजारौं विधवाहरु चर्खा कातेर खालान्, तर हामीले दया मागेको होइन । न्याय खोजेको हो । दया त कृत्रिम हुन्छ । हामी प्रत्येक अङ्गको चाहनालाई बुझन सक्छौं अंगालोमा बाँधिएर । कति पीडा सहने ! साइतमा टुप्लुक्क देखा परी राँडी, भनेर सरापेको कति सुनेकी छु कति मैलै । त्यसैले सकारात्मक दृष्टिकोणका निम्ति दुनियाँकै आँखा बदल्न पनि जुर्मुराउनु पर्छ ।

आन्दोलनलाई उचाइ दिने शिलशिलामा मन्त्रीमुखि सञ्चार प्रवृत्तिका लागि पनि राजनीतिका ब्यापारी मन्त्रीको सभापतित्वमा मिटिङ गर्नुपर्ने भयो । विधवाको वेदनालाई मैले भोगेको अनुभवमा बताउँदै गर्दा सभा कक्ष स्तब्ध हुँदै गयो । वादी महिलाको कोखमा अज्ञात बाबुबाट जन्मेको बालक, क्रियापुत्रीको रुपमा छोरी रहन नसक्ने कुरा, र छोरीले घर छाउन तथा हलो जोत्न नहुने जस्ता कुराहरु पनि क्रमशः उठाउँदै लगें । र पुरुषहरुको अभावमा नारीहरुले मलामी गएको, हलो जोतेको, क्रिया बसेका घटना पनि भनें । एउटै काम पहिले नमिल्ने पछि मिल्ने ! मेरो भनाइको निष्कर्ष थियो ? हुने र नहुने भन्ने मान्यता हाम्रो सोचाईका उपजमात्र हुन । त्यसो त मेरो खारिएका विचारबाट ती राज्य संचालकहरु गल्दै गए र सोच्दा हुन् तिनका असफलताहरु ! मैले ब्यंग्यात्मक स्वरमा थप्दै लगें – हामी प्रजातन्त्रको खोल ओडेर पनि छोरा-छोरीलाई समान शिक्षा भन्न छोडेर समान अंश भन्यौं । अब प्रस्तवित बुहारीको नाउँमा अंश छ कि छैन भनेर छोरा र तिनका बाबुहरु मालपोत कार्यालयको खरिदारको घरमा रु पाँच सयको भेटी लिएर पुग्ने भए । अंश पाउन असमर्थ चेलीहरुको विवाह हुन नसक्ने दिन आउने भयो अर्थात् जन्मँदै विधवा । असी प्रतिशत गाउँमा बस्ने किसानहरुसँग छोरा-छोरीलाई अंश दिन पुग्ने कति जग्गा-जमीन छ र ! समान शिक्षा : समान अवसर, भन्न छाडेर फेरि हामीले अर्को पुस्तालाई जुलुसको आयोजना गर्न वाध्य तुल्यायौं । समान अवसर दिएर बाँकी रहेको पैतृक संपत्तिमा बावुआमाको मृत्यु पछिमात्र समान हक लाग्ने गरी कानून बनाइएको भए खराब के हुन्थ्यो र ! राज्यका कुर्ची कुर्न राखिएका ती खेतालाहरु र नारीवादी आन्दोलनका कठपुतलीहरुसँग मुखामुख गर्नुसिबाय मेरा प्रश्नहरुको जवाफ थिएन ।

कार्यक्रम सकियो । सबै हिँड्न हतारिए । मलाई मन्त्रीले एकै छिन रहन ईशार गरे । एकैछिन कसैलाई भित्र नपठाउनू, मन्त्रीले पी ए लाई फोनबाट आदेश गरे । मन्त्री मसँग के बिषयमा कुरा गर्न चाहन्छन् भन्ने बिषय प्रष्ट थिएन । तै पनि बस्नै पर्‍यो । मेडम अघि तपाईंले बताएका वेदनाहरु पुनः बताइदिनोस् न, मन्त्रीले मसँग भने । उनका लर्बराएको ओठको भाषामा मैले बुझिहालें त्यो वेदनाको विषयमा मलाई सुताएर मन्त्रीजी या त मेरो छिप्पिएको जवानीमा एकैछिन इत्तरिन चाहन्छन् वा मैले नेतृत्व गरेको आन्दोलनलाई आफूसँग नजिक देखाउन चाहन्छन् वा यस आन्दोललाई तुहाउन खोजिरहेका छन् । अर्कोतिर सोचें, राज्य संचालकहरुको नियति । म नागरिक समाजकी यौटा सिंगो प्रतिनिधि, उनी राज्यका । म निर्माणमा उनी विनासमा । राज्य र नागरिकको सोचाइबीचमा संघर्षले इतिहास रचिरहेछ । मेरो हातको इरेजरले सामन्ती शब्दकोषमा उल्लेखित विधुवा जस्ता विकृत शब्दहरु मेट्न चाहान्छ तर सामन्तीहरु लेख्न चाहान्छन् । नेताहरु राजनीतिमा बर्चस्वका लागि लडिरहेका छन् तर नागरिकहरु भने बिजुली, इन्धन, पानी, ग्यास र फोहरको उचित ब्यवस्थापनका लागि भीख माग्न बाध्य छन् । जबसम्म राजनीति र नागरिकको उद्देश्यबीच अन्तर रहन्छ तबसम्म नागरिकहरुको संघर्ष जारी रहनेछ । ब्यक्ति फेरिएर त के भो र संस्कार नफेरिए पछि !

न्यायका नाउँमा विचरा राज्यले मलाई एक पेट भात किन्न नपुग्ने एकसय मासिक विधवा भत्ता दिने रे ! त्यो मासिक भत्तामार्फत मलाई सदासदाका लागि विधवाको विल्ला भिराउन खोजेर झन् पुरातन मान्यतालाई निरन्तरता दिन खाजेको छ – नयाँ नेपालको आधुनिक लोकतन्त्रले । तर म स्वतन्त्रता खोजिरहने छु ।

© Jesi Wagle

July 26, 2010 / Merouk.com

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: