INCOMESCO

An open discussion around food security, international development, inequality and area of interest

बाबेताको प्रयोगशाला (कथा)

Jagadish ©

”ल यार यो तिमीलाइ”, रामले रेवन सनग्लास मलाई दियो र झोला खोल्दै स्विजरल्याण्डको आप्पेन्जेलरसान्ती ह्वीस्की निकाल्यो । भरेको नशा छोटै परिचयमा बाबेताले दिएकी सेतो टीशर्टमा प्रीण्ट गरेको सुन्दर मोन्तेरोजा हिमाल पनि देखाउन भ्यायो र, भन्यो – ‘‘कंचन हिमालकी परी त्यो बाबेताले मेरो मननै हल्लाउनेगरी मोहनी लगाइदिई । कति राम्रो मोरीको हाँसो पनि, टम्म मिलेका सेता दाँत, र गुलावी ओठको वरिपरि गालामा देख्न पाइने हल्का डिम्पल स्विजरल्याण्डका हिमालझैं मेरो मनमा अटल बनिरहे ।’’

यतिकैमा राम अलिक भावुक हुदै आफ्नो अन्तर्लाप सुनाउन थाल्यो– ‘…आमाको निरन्तर याद आइरहेको छ । खाएको पनि केही छैन । ब्याग फ्यात्त फालेर सोफामा यसो पल्टेको त भुसुक्क निदाएछु । स्विजरल्याण्डकोप न्ध्र दिनको भ्रमणपछि आजमात्र घर फर्केको, थाकेर भुतुक्क भइएछ । केही छ कि, खाएर सुत्नुपर्यो । भोली फेरी सबेरै काममा जानुछ।’

विछ्यौनामा पल्टेर रामले सुनाउँदै गयो- ‘आमाको गर्भमा जन्म लिएर नौ महिनापछि यति ठुलो धरतिको निरन्तर बिचरण गर्नपाउनु  कुनै पनि व्यक्तिका लागि सानो कुरा भएन।सीलौटमा खरीले लेख्न सिकाएर धरतिमा ठुलो मान्छे हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो पिताजीले । आमाले निस्वार्थ गाँस कटाएर खुवाउनु हुन्थ्यो । धेरै पढ्छु, ठुलो मान्छे हुन्छु, धेरै पैसा कमाउँछु र तपाईहरुलाई पनि देश बिदेश घुमाउँछु भनेर आमा बाबुलाई सानैदेखि भन्नेगर्थें । आमा बाबु मुखामुख गरेर दंग पर्नुहुन्थ्यो र गाऊँभरी सबैलाई सुनाउनुहुन्थ्यो मेरो पौरख। आज म याहाँ अमेरिकी आर्कान्सस स्टेट युनिभर्सिटीमा पी एच डी गर्न थालेको तीन बर्ष बितिसकेछ । शुरुका दिनहरुमा मेरी आमासँग हप्तामा एक दिन कुरा नहुँदा रातभर निद्रा पर्दैनथ्यो । ठुलो मान्छे भयौ भने हामीलाई नबिर्सेहै, भन्ने गर्नुहुन्थ्यो।’

म भने निन्द्राले चुर भएको भए पनि रामका सत्य र तथ्यले भरिएका यी अन्तर्लापबाट झन् जाग्दै र सुन्दै रहेँ- ‘मानिस चेतनाले मात्र मानिस भएको रहेछ। ऊ सँधै मानवताले भरिएको मानिस रहन सक्दोरहेनछ । मानिसबाट मानवता हराएपछि उसका कर्महरु असामाजिक बन्दारहेछन् । महंगो शिक्षाले उसका बिचारहरुलाई झन कृत्रिम बनाउँदो रहेछ । श्रृंगारले सजिएकी बुढी जस्तै । ममा पनि ती कृत्रिमताको काफी गन्ध आउन थालेछ । समय, काल र परिस्थितिलाई मुल्यांकन गर्ने र तिनको शक्तिसँग डराउने मेरो सानो उमेरका ती विवेकहरु आज बन्धक भएका छन्। आजको शिक्षाले मानिसमा प्रतियोगिता जगायो । प्रतियोगिताले मनै विजेता हुँ भन्न र त्यही अनुरुप काम गर्न सिकायो । म अहिले जति आफ्नो बारेमा सोच्छु त्यसको एक अंश पनि अरुको बारेमा सोच्न सक्तिन । त्यसैले मेरो मानवत्व कुरुप हुंदै गएकोछ । हार्दिकताले सबैको उपस्थितीलाई मन पराउँछ भने प्रतिस्पर्धाले केवल आफ्नो मात्र । सिमित अवसरहरूको खोजीले एक्काइसौँ सताव्दीलाई प्रतिस्पर्धाको युग बनायो।’

‘भौतिकताले सम्पन्न महँगा विश्वविद्यालयको प्रमाण पत्र हात पार्न गरिब जेहन्दार विद्यार्थीहरु असफल भैरहेका छन । शिक्षामा पनि कल्याण हराएको छ भने नाफाको लगानी बढाएकोछ ।लगानीको नाफाले विलाशीहरुको जिवन शैलिलाई तल झर्न नहुने गरी माथि अडकाएकोछ । लगानीले स्वभाविक रुपमा प्रतिफलको लक्ष्य लिनेगर्दछ। नाफाको हिसाब किताबले नै कल्याणलाई शिथिल पार्ने गर्छ । लगानी र नाफाको लागि समाजलाई पुरै नियन्त्रणमा लिनु पर्ने लगानी कर्ताहरुको पनि बाध्यता भयो भनेर बिव्दानहरुले त्यसै त भनेका होइन रहेछन। क्षमता प्रदर्शन प्रतियोगिता बनेकोछ । शिक्षा प्रदान गर्ने संस्थाहरु पनि विलाशी मनमोहक जिवन शैलिका प्रतिक बनिरहेका छन।’ 

म फेरि झकाउन लागेको के थिएँ रामले घच्घच्यायो र भन्यो- ‘विलाशी मनमोहक पनि यतिसम्म की विश्वविद्यालयको चौरभरी अर्धनग्न छात्र छात्राहरुको क्रिडा देख्दा लाग्छ त्यहाँ मानिसहरु पढनमात्र होइन धेरै कुराहरू सिक्न आउँछन, त्यसमा एडस रोग पनि पर्दछ ।’ राम अझै वाभुक हुँदै भन्न थाल्यो- ‘म पनि नबहकिएको कहाँ हो र । म वासनाको पागल भएँ र हुदैरहें । वर्णमालाका अक्षरमा घुमिरहेको मेरो वासनाका पानाहरु एक पछि अर्को गरी पल्टिरहे। मध्य रातसम्म नशामा पिएको जवानीलाई विश्वविद्यालयको हरियो चौरमा मडारेका ती टाटाहरु अहिले पनि मेरो दिमागमा जीवन्त छन । दुनियाको आँखा छल्न  विश्वविद्यालयका संस्थापकको मुर्तिको छेल परेर अफ्रीकन माकोभाको जवानी पनि रित्तिएको थियो । जवानीको म कृष्ण काले मेरा वरीपरि गोपिनीहरु । म केन्द्रमा घडीको सुईझैं घुम्थ्येँ । बाह्रसम्मको अंकहरुलाई दिनमा पटक पटक भेटेर मौसमको रंग बदलिदिएको छु मैले । आराध्यदेव शिवलिंगको जल गुह्येशवरीमा मिसाएर आफुलाइ चोखो पार्न औसे गर्नु, कृष्ण मन्दिरमा गोपिनीहरुको गाथा गाउनु मेरै धर्मको मर्म हो । लक्ष्मण रेखा नाघ्ने सति सावित्रीको राम कथा पुरुषार्थ हो भने द्रौपदिको चीर हरण मेरो पौराणिक ग्रन्थ हो ।’

रामले थप्यो- ‘मेरो क्लासकी अध्यापिका सेरिना यता उता फर्केर केमिकल रियाक्सनको बारेमा ज्ञान बाँढन व्यस्त थिइन । उनी सबैले बुझिदिए आप्नो बिद्वत्ता महान हुने ठान्थिन । म भने उनलाइ  बुझिरहेको थिएँ, न की उनको ज्ञानलाई । कालो टी शर्टभित्र उच्च हिमालझैं अटल छातीमा सजिएको उनको आकार र स्कर्टले छोप्न नसकेको गुलावी रंगमा चम्किएका अंगहरु । अर्थात म सेरिना मिसका अंग अंगमा संचारित केमिकललाई प्रयोगशालामा अनुसन्धान गरेर निचोड निकाल्न व्यस्त थिएँ । क्लास सकियो । साथिहरु बाहिरिए । म र सेरिना मिस निस्कंदै गर्दा मैले बिचैमा सोधिहालें- ‘‘मिस म केमिकल रियाक्सनको बारेमा प्रष्ट हुन सकिन ।’’ मेरो प्रश्न थियो कि ‘‘म यौटा पुरुष साथिसँग घण्टौं सगै बसें भने कुनै कुराको महशुस हुन्न तर यौटी केटी साथीसँग एक्लै हुंदैछु भने शरिरमा एक प्रकारको डर, कम्पन र तरलताको प्रवाह हुन थाल्छ । यो प्रतिक्रिया चुम्बकझैं यति शक्तिशाली भएर आइदिन्छ कि दुवै शक्तिहरुलाई एकै ठाऊँमा जोडिन वाद्य पारिदिन्छ । यस्तो किन हुन्छ ?’’  हिंडदै गर्दा उनका छातिका संबेदनशील अंगहरु मेरो पाखुरामा ठोकिएको कुरा दुबैलाई महशुस भयो । म फरक्क फर्कि हालें र तापले रन्किएका मिसको राता गालाहरु हेर्दै फेरी सोधें …. ‘‘यो कुन केमिकलको रियाक्सन हो जुन यति धेरै प्रभावकारी हुन्छ । ’’सेरिना मिस अलिक लजाइन, अकमक्कमा परिन । आखिर त्यो कक्षाकोठा नै प्रयोगशालामा परिणत भयो  । अन्धकार भयो, केही देखिएन ।

रामले भन्यो- ‘अनि छटपटी बढदै गयो । प्रयोगशालाको परिणाम के आउला ? कतै पुलिसले पक्डेर लाने त होइन  ? मनुस्मिृतिका  नितिहरू  सम्झन  थालेँ । गाडीमा नीजि नम्बर प्लेट राखेर, मोवाइल फोनका नयाँ सेटहरु फेरेर, नयाँ नयाँ घडीहरु फेरेर म युवति आकर्षित गर्थें । तिनै युवतिहरुको छायाँ मेरा लागि यतिखेर भुत बनेर तर्साइरहेका छन् । धेरैलाई ढाँटें, कानुनका दफाहरु पनि लुकेर मेटी दिएँ । धेरैलाई ढँटुवा बनाए । जग्गियामा रातो पच्छ्यौराले मुख छोपेर सगुनको दही ख्वाएकी मेरी आमाको पवित्र मातृत्वलालाई ढाँटें । कुमार केटा हुँ भनेर ब्रम्हणलाई ढाँटें । शुरोचरु समातेरै ढाँटें । तर भगवान र म स्वमंलाइ ढाँटन सकिरहेको छैन ।’

‘‘ग्य्राजुएशन समारोहमा तिनै सेरिना मिस विश्वविद्यालय छोडने तरखरमा रहेका विद्यार्थीहरुलाई बधाई सन्देश दिंदै थिइन र भन्दै थिइन आआफनो ज्ञानलाइ कार्य क्षेत्रमा उतार्नु ।रशायनशास्त्रको अहंकारी मोहले विश्वविद्यालयलाई प्रयोगशाला बनायो । जति धेरै प्रयोग गर्न सक्यो रशायन सम्बन्धि मेरो ज्ञान त्यतिनै उच्च दर्जाको हुने भयो । मेरो ज्ञानको प्रमाणपत्र त्यति नै धेरै मुल्यमा नाफाको व्यापार हुने भयो । बारुदको रशायन भने मानव अधिकार र प्रजातन्त्रको लागि उजाड खडेरीमा पडकि रहने भए । इराक, अफगानिस्थान, लिविया, सिरिया, पहिलो विश्व युध्द, दोश्रो विश्व युध्दमा हजारौं निर्दोष मानिसहरुलाई मारेर विजयको उन्मादी मनाउने सीमित शासकहरु मात्र मेरो शिक्षाको प्रशंसक बनेका छन्। शासकहरु हजारौँ निर्दोष आमाहरुको बस्तिलाई बारुदमा यसरी नै पडकाएर सेरिना मिसहरुको ज्ञान र विवेकलाई प्रयोगशालामा उल्टाइ दिने गर्छन् । मेरी आमाभने बारुदी धुवाँमा ढाकिएर बेखबर छिन, सधैंभरका लागि । मलाइभने आमाले ख्वाएको एक सुर्को दहीको सगुन बिसाउनै नसक्ने गरी भारी भईरहेछ’’ भन्दै रामले ठुलो स्वास फेर्यो ।

यतिकैमा रामको मोवाइलको घण्टी बज्यो । बाबेता !….. भन्दै ऊ अर्का कोठातिर लाग्यो । म भने स्विस भाषामा बाबेताको अर्थ के रहेछ भनेर एकै छिन  गुगल सर्चतिर लागें। बाबेता….अर्थात विदेशी महिला ।

समाप्त

१।१।०७०   १४अप्रील 2013

( यो कथा मैले प्रसिध्य साहित्यकार पाउलो कोहेल्लोको ‘इलेवेन मिनेट‘ पढे पछीका तरंगलाई बिट मार्न लेखेकोहुँ;  त्यसैले  त्यस उपन्यासको  अध्ययन पनि नराम्रो हुनेछैन )

BS 1/1/2071 (14 April 2014)

http://wp.me/P4eVoB-oD

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: